काठमाडौं । लकडाउन लम्बिँदै जाँदा करीब महीना दिनदेखि रू.४ अर्बको तयारी गलैंचा गोदाममै थन्किएको छ । गलैंचा निर्यात हुने मुलुकहरूमा समेत यति बेला कोरोनाको उच्च जोखिम बढेर लकडाउन भएकाले निर्यात हुन नसकेर तयारी गलैंचा यसरी थन्किएको हो ।

नेपालमा उत्पादन गरिएको गलैंचा अमेरिका, चीन, जर्मनी, बेलायत, इटाली, फ्रान्स, क्यानडा, बेल्जियम र अस्ट्रेलियालगायत विश्वका करीब ५० भन्दा बढी मुलुकमा निर्यात हुने गर्छ । तर, लकडाउनका कारण तयारी अवस्थामा रहेको गलैंचा गोदाममै थन्किएको नेपाल गलैंचा उत्पादक तथा निकासी कच्चा संघका अध्यक्ष रामबहादुर गुरुङ बताउँछन् ।

singhadurbardaily feature

लकडाउनअघि ठूला अमेरिका र यूरोपेली देशहरूबाट ठूलो परिमाणमा गरिएका माग पनि हाल रद्द भइसकेको निर्यातकर्ताहरूको भनाइ छ । अहिले करीब ३० प्रतिशत मात्र गलैंचा उद्योग सञ्चालनमा रहे पनि ती पूर्ण क्षमतामा नचलेको गुरुङको भनाइ छ ।

नेपालमा गलैंचाका ७ सयजति उद्यमी तथा १ सय ५० भन्दा बढी निर्यातकर्ता छन् । हाल समग्र गलैंचा उद्योग नै प्रभावित हुँदा यसमा आश्रित करीब ३ लाख कामदार प्रभावित हुनपुगेको संघले जानकारी दिएको छ । कामदारहरूले चैत महीनाको तलब पाए पनि वैशाख महीनाको तलब कसरी दिने भन्ने बारेमा टुंगो नलागेको गुरुङले बताए ।

लकडाउनपश्चात् विदेशतिरबाट गलैंचाको माग पनि नभएको र यस अघि नै गरिएको माग पनि रद्द हुन सक्ने सम्भावना भएकाले पनि कामदारहरूलाई तलब दिन नसकिएको गलैंचा व्यवसायीहरू बताउँछन् । लकडाउनयता दैनिक रूपमा करीब ६ करोड रुपैयाँ बराबरको घाटा बेहोरिरहेको संघले जानकारी दिएको छ । उद्योगहरू नचलेको र उत्पादित वस्तुसमेत निर्यात हुन नसकेकाले कामदारलाई तलब दिन समस्या भएको हो । भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षमा ८ दशमलव ५ अर्ब रुपैयाँ बराबरको नेपाली गलैंचा निर्यात भएको थियो ।

भन्सार विभागको तथ्यांकअनुसार चालू आवको पहिलो ९ महीनामा नेपालले ५ अर्ब ११ करोड रुपैयाँ बराबरको करीब २ लाख ४८ हजार स्क्वायर मीटर गलैंचा विभिन्न ५५ ओटा मुलुकमा निर्यात गरेको छ । नेपाली गलैंचा बढी निर्यात हुने मुलुकहरूमा अमेरिका, जर्मनी, बेलायत र चीन हुन् । विभागको तथ्यांकलाई हेर्दा यस अवधिमा सबैभन्दा बढी अमेरिकामा २ अर्ब ७६ करोड रुपैयाँको गलैंचा निर्यात भएको छ भने जर्मनीमा ५७ करोड ६६, बेलायतमा ४४ करोड १७ लाख र चीनमा १० करोड ७६ लाख रुपैयाँ बराबरको गलैंचा निर्यात भएको छ ।

यद्यपि चीनमा हुने गलैंचा निर्यात बैंकिङ प्रणालीमार्फत कारोबार नहुने भएकाले चीनमा के ति मात्रामा गलैंचा निर्यात हुन्छ भन्ने कुराको यकिन तथ्यांक राख्न व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले नसकेको गलैंचा उद्यमीहरू नै बताउँछन् ।

नेपाल सरकारले असंगठित क्षेत्रमा दैनिक ज्यालादारीमा काम गर्ने कामदारलाई राहत दिने भनेर ल्याएको राहत प्याकेजमार्पmत गलैंचा उद्योगमा काम गर्ने कामदारले राहत नपाएको संघका प्रमुख कार्यकारी अधिकृत अमृत तामाङले जानकारी दिए । ‘हाम्रो उद्योग त संगठितभित्र पर्छ, त्यसैले हाम्रा कामदारले राहत पाउन सकेनन्,’ उनले भने ।

सरकारबाट कामदारले राहत पाउन नसकेपछि नेपाल गलैंचा उत्पादक तथा निकासी कच्चा संघकै आ⋲वानमा यस संघमा आबद्ध करीब २ सय ५० जना सदस्यले नै कामदारलाई राहत वितरण गरेका छन् ।

हाल गलैंचा उद्योगमा काम गर्ने करीब २५ प्रतिशत कामदार आफ्नै गाउँ फर्किसकेका छन् भने उद्योगमै बसेका कामदारलाई उद्योग नचलेर तलब दिन नसकिए पनि उद्योगीहरूले उनीहरूलाई समस्या नहोस् भनेर आफ्नै खर्चमा दैनिक आवश्यकता कुराको व्यवस्था गरिरहेको तामाङले बताए ।

गलैंचा उद्योगका श्रमिकहरूले राहत नपाएको विषयमा उद्योगहरूले मन्त्रालयमा जानकारी नगराएको उद्योग मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले बताए । यदि जानकारी आएमा यस विषयमा अनुसन्धान गरी राहत दिन सकिने उनको भनाइ छ ।

लकडाउनको शुरुआती दिनहरूमा करीब ३० प्रतिशत उद्योग सञ्चालनमा भए पनि हाल लकडाउनका कारण यी सबै उद्योग पनि पूर्णरूपमा चलाउन समस्या भएको छ ।

singhadurbardaily feature